राष्ट्रका नाममा सम्बोधनपछि प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे

  • प्रकाशित मिति : २०८३ श्रावण १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।

सुनसरी, सिरहालगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाका बीच प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार परिस्थितिप्रति पूर्ण रूपमा संवेदनशील रहेको बताएका थिए। उनले घटनाको निष्पक्ष छानबिन हुने, दोषीलाई कानुनी दायरामा ल्याइने तथा शान्ति–सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।



सम्बोधनका क्रममा प्रधानमन्त्रीले सामाजिक सद्भाव कायम राख्न, अफवाह र भ्रामक सूचनामा विश्वास नगर्न तथा कानुन हातमा नलिन सबै नागरिकसँग आग्रह गरेका थिए।

राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि शीतलनिवास पुगेका हुन्। भेटको एजेन्डाबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।